दफा १२५
मातृक तथा पैत्रिक अख्तियारी संयुक्त रूपमा प्रयोग गर्नु पर्ने

(१) यस परिच्छेद अन्तर्गत आमा बाबुले आफ्ना छोरा छोरी उपर प्रयोग गर्न सक्ने अख्तियारी, पूरा गर्नु पर्ने जिम्मेवारी तथा पालना गर्नु पर्ने कर्तव्य निजहरू दुवैको सहमतिले संयुक्त रूपमा गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सो उपदफा बमोजिम प्रयोग गर्ने अख्तियारी, पूरा गर्नु पर्ने जिम्मेवारी तथा पालना गर्नु पर्ने कर्तव्य देहायका आमा वा बाबुले गर्नेछ :–
(क) आमा वा बाबुमध्ये कसैको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले,
(ख) आमा वा बाबुमध्ये कुनै एकको होस ठेगानमा नरहेको अवस्थामा त्यस्तो अवस्था कायम रहेको अवधिभर होस ठेगानमा रहेको आमा वा बाबुले,
(ग) आमा बाबुको वैवाहिक सम्बन्ध अन्त्य भएको वा कानून बमोजिम भिन्न बसेकोमा नाबालक जिम्मा लिने आमा वा बाबुले,
(घ) बाबुको ठेगान नलागेको नाबालक भए आमाले ।